Thursday, October 9, 2025

अलास्कामा बेपत्ता विमानको भग्नावशेष फेला, दशैँ यात्रुको मृत्युको आशंका

अमेरिकाको अलास्कामा बेपत्ता भएको विमानको भग्नावशेष फेला परेको छ। उक्त विमानमा रहेका १० जनाको मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी तटरक्षक दलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत नोम क्षेत्रबाट करिब ३४ माइल दक्षिणपूर्वमा विमानको भग्नावशेष फेला परेको जानकारी दिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार, विमानभित्र तीन जनाको शव फेला परेको छ भने बाँकी सात जनाको अवशेष पनि विमानकै भित्र रहेको अनुमान गरिएको छ। तर, विमानको अवस्था अत्यन्त जटिल भएकाले अहिले नै थप विवरण दिन नसकिने तटरक्षक दलले जनाएको छ।

यो विमान बेरिङ एयर कारभान कम्पनीको हो, जसले गत बिहीबार नौ यात्रु र एक पाइलटसहित उनालाक्लीटबाट नोमका लागि उडान भरेको थियो। अलास्का राज्यका सैनिकहरूले विमान बेपत्ता भएपछि खोजी कार्य सुरु गरेका थिए।

पछिल्लो समय अमेरिकामा विमान दुर्घटनाका घटनाहरू बढिरहेका छन्। पछिल्ला आठ दिनमै यो तेस्रो ठूलो उड्डयन दुर्घटना हो। जनवरी २९ मा वाशिंगटन डीसी नजिकैको पोटोम्याक नदीमा भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो भने जनवरी ३१ मा फिलाडेल्फियामा भएको अर्को दुर्घटनामा सात जनाले ज्यान गुमाएका थिए।

बेपत्ता विमान रहेको क्षेत्र उनालाक्लीट पश्चिमी अलास्कामा पर्ने लगभग ६९० जनाको सानो समुदाय हो, जुन नोमबाट करिब १५० माइल दक्षिणपूर्वमा अवस्थित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles