काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र केन्द्रिय तहमा रहेका केही महत्त्वपूर्ण नेताहरू निष्क्रिय बन्दै गएका छन्। अनुशासन समितिका प्रमुख भरतमणि देवकोटा, प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह र केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व सदस्य अरनिको पाँडे लामो समयदेखि पार्टी गतिविधिमा संलग्न छैनन्।
अनुशासन प्रमुख देवकोटा हाल अमेरिका छन् भने, कार्यवाहक प्रमुखको रूपमा रमाकान्त रिमालले भूमिका निर्वाह गरिरहेका छन्। देवकोटाले औपचारिक राजीनामा दिएका छैनन् तर पार्टीलाई समय दिन नसक्ने संकेत गरिसकेका छन्। कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, देवकोटा पारिवारिक कारणले अमेरिका बसेको र विकल्पबारे पार्टीमा छलफल भइरहेको छ।
त्यस्तै, पूर्वबैंकर अनिलकेशरी शाह पनि पार्टी गतिविधिबाट टाढा रहँदै आएका छन्। प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहे पनि शाहले नेतृत्व विकास पार्टीको प्राथमिकतामा नपरेको भन्दै अबको केही समयमै पद छाड्ने बताएका छन्। उनले पार्टीको प्रशिक्षण कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको स्वीकार गरेका छन्।
यसैबीच, पूर्व योजना आयोग सदस्य अरनिको पाँडे पनि निष्क्रिय रहेका छन्। ‘स्वार्थको द्वन्द्व’ टार्न भन्दै केन्द्रीय सदस्यबाट राजीनामा दिएका पाँडेले आयोग छाडेपछि पुनः सक्रियता देखाएका छैनन्। पाँडे स्वास्थ्य समस्याका कारण थला परेको र पुनः सक्रिय हुने बताएका छन्।
सहमहामन्त्री सुमना श्रेष्ठले पनि पदबाट राजीनामा दिइसकेकी छन्। कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार, यी नेताहरूको सक्रियता सुरुबाटै अपेक्षाअनुसार थिएन। उनका अनुसार, यिनीहरूको रफ्तार पहिले पनि सुस्तै थियो, अहिले झन् त्यही लयमा चलिरहेको छ।