मकवानपुर। बागमती प्रदेशसभाले चारवटा विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने निर्णय सर्वसम्मतिले स्वीकृत गरेको छ।
आजको बैठकमा श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगरको तर्फबाट पेस गरेको ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ।
उद्योग र व्यापारसम्बन्धी विधेयक पर्यटन समितिमा
उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले पेस गरेका ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पर्यटन तथा वातावरण समितिमा पठाइएका छन्।
कृषि विकास सम्बन्धी विधेयकमा छलफल
कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पेस गरेको प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफल गरिने निर्णय भएको छ।
खेलकुद ऐनको विधेयक कार्यसूचीबाट हटाइयो
प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक भने आजको बैठकको कार्यसूचीबाट हटाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
बैठकले सबै विधेयक सर्वसम्मतिले स्वीकृति प्रदान गरेको हो।