Saturday, June 7, 2025

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त, सेयर बजारमा ५० अंकको उछाल

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरको रूपमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको नेतृत्वका लागि पौडेलको नाम टुंगो लगाएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि डेढ महिना खाली रहेको उक्त पदमा पौडेलको नियुक्तिसँगै राष्ट्र बैंकमा नयाँ नेतृत्व स्थापित भएको छ।

डा. पौडेल एक अनुभवी अर्थशास्त्री हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुका साथै शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको आयोगमा सदस्यका रूपमा समेत कार्यरत थिए। उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन समेत गरिरहेका छन्।

पौडेलले विश्व बैंकमा परामर्शदाता, अन्तर्राष्ट्रिय श्रम संगठनमा आर्थिक सल्लाहकार, सानिमा बैंक, सानिमा मिडिल तमोर हाइड्रोपावर, युलेन्स स्कुल लगायतका निकायमा सञ्चालकको भूमिका निभाएका छन्। त्यस्तै, उनी इसिमोड, कोलम्बो प्लान काउन्सिल, एसिया प्यासिफिक समन्वय परिषद लगायतमा समेत आबद्ध थिए।

२०७९ सालमा उनले राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थिए। तर, रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए। पार्टीसँग सम्बन्धित विषय उठाएर उनको गभर्नर नियुक्ति विरुद्ध अदालतमा मुद्दा दायर गर्न खोजिएको भए पनि सर्वोच्च अदालतले उक्त मुद्दा दरपीठ गरेको छ।

आर्थिक नीति तथा शेयर बजारप्रति सकारात्मक मानिने पौडेलको गभर्नर नियुक्तिको समाचार आएलगत्तै सेयर बजार झन्डै ५० अंकले उकालो लागेको छ। यद्यपि, मौद्रिक क्षेत्रमा तुलनात्मक रूपमा उनी कम अनुभवी मानिन्छन्।

गभर्नरको रूपमा उनको मुख्य चुनौती भनेको बैंकिङ प्रणालीमा देखिएको तरलता संकट, बढ्दो निष्क्रिय कर्जा तथा देशलाई फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) को खैरो सूचीबाट बाहिर ल्याउने हो। त्यसैगरी, देशको आर्थिक स्थायित्व, मूल्यवृद्धि नियन्त्रण, बैंक तथा वित्तीय संस्थाको सशक्त नियमन र उपभोक्तामैत्री सेवा प्रवाह पनि उनको प्राथमिक जिम्मेवारी हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles