काठमाडौँ । नेपाल प्रहरीले शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका १०५ जनाको ‘स्क्रिनिङ’ प्रक्रिया सुरू गरेको छ। प्रहरीका अनुसार उनीहरूको आगजनी, तोडफोड, लुटपाटलगायत घटनामा संलग्नता यकिन गर्ने काम भइरहेको छ।
प्रदर्शनमा दुईजनाको मृत्यु, ७५ सुरक्षाकर्मी घाइते
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्रममा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका ५३ तथा सशस्त्र प्रहरीका २२ गरी ७५ सुरक्षाकर्मी घाइते भएका छन्।
आगजनी, लुटपाट र तोडफोड
प्रदर्शनकारीले तीनकुनेस्थित अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, प्रहरी प्रभाग कोटेश्वर, एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गर्नुका साथै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेका थिए।
- १४ स्थानमा आगजनी
- ९ वटा संस्था तथा कार्यालयमा तोडफोड
- १ स्थानमा लुटपाट
- ९ वटा सरकारी र ६ वटा निजी सवारीसाधनमा क्षति
प्रमाण संकलन र अनुसन्धान जारी
एसएसपी विश्व अधिकारीका अनुसार प्रहरीले घटनाको भिडियो फुटेज, सिसिटिभी दृश्यलगायत प्रमाणका आधारमा पक्राउ परेकाहरूको संलग्नता यकिन गरिरहेको छ। उनीहरूसँग सोधपुछसमेत भइरहेको छ।
राप्रपा नेताहरू पक्राउ, दुर्गा प्रसाईं फरार
हिंसात्मक प्रदर्शनमा उक्साएको आरोपमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्। आन्दोलनको कमाण्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन्।
प्रसाईंको खोजी तीव्र, ३ युनिट प्रहरी परिचालित
प्रहरीले प्रसाईंको खोजी तीव्र पार्दै तीनवटा विशेष युनिट परिचालन गरेको छ। पक्राउ परेकाहरूलाई आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरिनेछ। उनीहरूविरुद्ध आगजनी, सार्वजनिक शान्ति खलल, लुटपाट लगायतका अभियोगमा मुद्दा दर्ता गर्ने विषयमा सरकारी वकिलसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।