Tuesday, October 7, 2025

भारत–पाकिस्तान तनाव चुलिँदा नेपालको व्यापारमा असर पर्ने चिन्ता

भारतले आतंकवादविरुद्ध सुरु गरेको ‘मिसन सिन्दुर’ अभियानपछि भारत–पाकिस्तानबीच सैन्य द्वन्द्वको सम्भावना चुलिँदै गएको छ। कश्मीरमा २६ जना गैरसैनिकको हत्या पछि भारत आक्रामक बनेको हो भने पाकिस्तानले पनि जवाफी कारबाहीको चेतावनी दिँदै आएको छ। दुई देशका सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि तीव्र हुँदै गएपछि क्षेत्रीय अस्थिरताको चिन्ता बढेको छ।

तनावको असर भारतको सेयर बजारमा समेत देखिएको छ। यता, नेपालले भारतबाट वार्षिकरूपमा ठूलो मात्रामा आयात गर्दै आएको सन्दर्भमा यस्तो तनावले यहाँको बजारमा कस्तो असर पार्ला भन्ने प्रश्न उठेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र नेपालले भारतबाट झण्डै ७ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरिसकेको छ, जुन कुल आयातको झण्डै ६० प्रतिशत हिस्सा हो।

भन्सार विभागका अनुसार, भारत र चीनतर्फका भन्सार नाकामध्ये भारतका नाकाबाट मुख्य रूपमा व्यापार हुँदै आएको छ भने चीनतर्फबाट आयात निर्यात नगण्य मात्रामा छ। पाकिस्तानसँग भने नेपालको वैदेशिक व्यापार न्यूनस्तरमा सीमित छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्भावित असरबारे छलफल गरिरहेको जनाएको छ। मन्त्रालयका सहसचिव शिवराम पोखरेलका अनुसार हालसम्म बजारमा तत्काल असर पर्ने संकेत देखिएको छैन। चामल, गहुँ जस्ता वस्तुमा पर्याप्त भण्डारण रहेको र पेट्रोलियमको आयात मुख्यतः पाइपलाइनमार्फत् भैरहेकोले समस्या नदेखिएको उनले बताए। साथै, सरकार र निजी क्षेत्र दुवैले सतर्कता अपनाउँदै आवश्यक तयारी गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles