Tuesday, October 7, 2025

प्रधानमन्त्री ओलीको निर्देशन: तस्कर र भ्रष्टमाथि निर्धक्क अनुसन्धान गर्न नेपाल प्रहरीलाई आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई कडा निर्देशन दिएका छन्।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विधिको शासन र शान्ति सुरक्षाको स्थापना गर्न दृढताका साथ अघि बढ्न प्रहरीलाई आह्वान गरे।

प्रमाण र निष्पक्षताको आधारमा काम गर्न जोड

प्रधानमन्त्री ओलीले भने, “तपाईंहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ। जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन्। कुनै तस्कर, भ्रष्ट र ठगमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस्। मुलुकमा शान्ति सुव्यवस्था कायम राख्दै राष्ट्रिय हित र एकतालाई ध्यान दिनुस्।”

७५ करोड लागतमा बनेको पेभिलियन

२०७७ जेठ ११ गते शिलान्यास गरिएको ‘द ब्लु पेभिलियन’ ७५ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ पुस्तक विमोचन गर्दै भवन निर्माणमा योगदान गर्ने अधिकारी, प्राविधिक र निर्माणकर्ताहरूलाई सम्मान गरे।

दैवीप्रकोप सहायता कोषमा ७४ लाख सहयोग

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीलाई ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै दैवीप्रकोप सहायता कोषमा सहयोग गरे।

प्रहरी ऐन संशोधनको प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन विधेयक संसद्मा पेस भएको जानकारी दिँदै आवश्यक सुझावलाई समेटेर चाँडो पारित गरिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद ध्रुवबहादुर प्रधान लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles