Wednesday, October 8, 2025

बारामा प्रहरीकै मिलोमतोमा खुलेआम तस्करी, नियन्त्रणभन्दा बाहिर अवैध सामानको ओसारपसार

बारामा भारतसँग जोडिएका विभिन्न नाकाहरू हुँदै पछिल्लो समय सुनियोजित रुपमा तस्करी भइरहेको पाइएको छ। प्रहरीकै संलग्नतामा मटिअर्वा, मुसर्हवा र छतवा नाका भएर गुटखा, कपडा, माछा, किराना, धानजस्ता सामान खुलेआम भित्रिएका छन्। प्रहरी स्रोतका अनुसार तस्करीमा संलग्न ट्रकहरू नेपाल प्रवेश गर्दा आवश्यक जाँचसमेत गरिँदैन।

गत चैत १९ मा बारा प्रहरीले ३५ लाख ६४ हजार रुपैयाँ बराबरको जुता, चप्पल, डाईपर, स्टेशनरी सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको थियो। तर त्यसयता कुनैपनि तस्करी नियन्त्रणमा लिएको विवरण प्रहरी तथ्यांकमा देखिँदैन।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ना ७ ख २४२१ नम्बरको ट्रक भन्सार छल्दै आएको सूचना पाएपछि पथलैया प्रहरी चौकीले चेकजाँच गरी विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको हो। यस्तै, चैत १७ मा बलिरामपुर नाका हुँदै राखिएको चार लाख ४४ हजार रुपैयाँ बराबरको केराउ समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

तर पछिल्ला दुई सातादेखि बारा जिल्लामा तस्करी नियन्त्रणमा लिन कुनै प्रयास नभएको देखिन्छ। स्थानीय बासिन्दाले प्रहरीसँग मिलेमतोमा तस्करहरूले ट्रक र ठेलागाडाबाट भारततर्फ कबाड पठाउने र नेपालतर्फ गुटखा, खाद्यान्न, र कपडा ल्याउने गरेको आरोप लगाउँदै आएका छन्।

यसप्रकारको लापरवाही र संलग्नताले सीमा सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ। सुरक्षा संयन्त्र निष्क्रिय हुँदा सिङ्गो तस्करी नेटवर्क मौलाएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles