काठमाडौं । भ्रष्टाचार, राजनीतिक अस्थिरता, अराजकता, बेरोजगारी र अवसरको अभावका कारण हजारौँ नेपाली स्थायी रूपमा स्वदेश त्यागिरहेका छन्। पछिल्ला दुई वर्षको सरकारी तथ्यांक अनुसार, १ लाख ३७ हजार ७५० नेपालीले स्थायी रूपमा विदेश बसाइँ सरेका छन्।
अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा मात्र ६६ हजार ८३५ नेपालीले र सन् २०२४ मा ७० हजार ९१५ नेपालीले स्थायी रूपमा विदेश गएका छन्। पुरुषको संख्या महिलाभन्दा बढी रहेको देखिएको छ, दुई वर्षमा ७१ हजार २०७ पुरुष र ६६ हजार ५३८ महिला स्थायी बसाइँ सरेका हुन्।
यससँगै, अस्थायी बसाइँका लागि पनि नेपालीको संख्या उल्लेखनीय छ। सन् २०२३ मा १ लाख ८२७ र सन् २०२४ मा ९२ हजार ३४९ नेपाली अस्थायी रूपमा विदेश गएका छन्, जुन कूल १ लाख ९३ हजार १७६ पुग्छ।
रोजगारीका लागि विदेश जानेको संख्या अझै उच्च छ। पछिल्ला दुई वर्षमा मात्र १६ लाख ६४ हजार ८३७ नेपाली काम खोज्न विदेशिएका छन्। सन् २०२४ मा यो संख्या ८ लाख ५६ हजार ४२२ पुगेको छ, जुन सन् २०२३ को तुलनामा उल्लेखनीय वृद्धि हो।
अध्ययनका लागि पनि विद्यार्थीको ठूलो संख्याले देश छाडेको देखिन्छ। सन् २०२३ र २०२४ मा कूल २ लाख २७ हजार ९५१ विद्यार्थीले विदेश यात्रा गरेका छन्।
त्यस्तै, भिजिट भिषामा घुमफिर गर्न विदेश जानेको संख्या पनि बढ्दो छ। पछिल्ला दुई वर्षमा ४ लाख ७८ हजार ८४६ नेपाली विदेश गएका छन्, जसमध्ये सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५१८ जना रहेको तथ्यांकले देखाउँछ।
राजनीतिक र प्रशासनिक असफलता, आर्थिक अवसरको सीमितता र भविष्यप्रति बढ्दो निराशाले नेपालीलाई स्वदेश त्याग्न बाध्य बनाइरहेको तथ्यांकले पुष्टि गर्छ। यो अवस्था चिर्न राज्य संयन्त्रको पुनरावलोकन, प्रभावकारी योजना र स्वदेशमै समृद्धिको सम्भावना देखाउने दीर्घकालीन रणनीति आवश्यक देखिन्छ।