काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले विगत ३५ वर्षयताका सम्पूर्ण भ्रष्टाचार काण्डहरूको छानबिन गरी सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले मुलुकले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरू सहनुपरेको भन्दै सरकारसँग विपद् व्यवस्थापनका लागि ठोस योजना नभएको आरोप लगाइन्।
उनले भनिन्, “ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई अझै भ्रष्टाचारी मुलुकको रूपमा देखाएको छ। हाम्रा कर्णधारहरू असुरक्षित छन्, विद्यार्थीहरू आत्महत्या गर्न बाध्य छन्। विपद् व्यवस्थापनमा ठोस योजना छैन, सेनाका उद्धार हेलिकप्टरहरूको अवस्था कमजोर छ। यस्तो अवस्थामा सरकारले रामराज्यको देखावा नगरी कमसेकम पासमार्क ल्याउने गरी काम गर्नुपर्छ।”
उनले राजनीतिक संस्कार सुधार्नुपर्ने आवश्यकता औंल्याउँदै शासन प्रणालीको पुनरावलोकन र स्वतन्त्र न्यायिक आयोग गठन गरी विगत ३५ वर्षका सम्पूर्ण भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्ने बताइन्।
सांसद कार्कीले अन्तर्राष्ट्रिय सहयोग नभई ठगीको आरोपमा अमेरिकी सहायता परियोजना (USAID) का ३९ मिलियन डलर रोकिएको घटनाप्रति पनि चिन्ता व्यक्त गरिन्।