काठमाडौं – इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाइल वा कार्ड प्रयोग गरी हुने भुक्तानी प्रणालीलाई विद्युतीय भुक्तानी भनिन्छ। यसले नगद वा चेक बोक्ने झन्झट हटाउँदै कारोबारलाई सहज बनाएको छ।
हाल अधिकांश भुक्तानी मोबाइल बैंकिङ वा मोबाइल वालेटमार्फत गर्न थालिएको छ। यी दुई सेवा बाहिरी रूपमा उस्तै देखिए पनि तिनीहरूका विशेषताहरू भने फरक छन्।
मोबाइल वालेट के हो?
भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकहरूका लागि प्रदान गर्ने विद्युतीय खाता हो, जसमा प्रयोगकर्ताले रकम जम्मा गरेर वस्तु तथा सेवाको भुक्तानी गर्न सक्छन्। ई–सेवा, खल्ती, नमस्ते पे जस्ता २६ वटा मोबाइल वालेट नेपालमा उपलब्ध छन्।
मोबाइल बैंकिङ के हो?
बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरूलाई स्मार्टफोन वा ट्याबलेटबाट कारोबार गर्न दिने सेवा हो। मोबाइल बैंकिङ बैंक खातासँग प्रत्यक्ष जोडिएको हुन्छ। नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीहरूले मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेका छन्।
मोबाइल बैंकिङ र वालेटबीच मुख्य फरक
१. बैंकिङ खाता – मोबाइल बैंकिङ बैंक खातासँग सम्बन्धित हुन्छ, वालेट भने स्वतन्त्र भुक्तानी सेवा मात्र हो।
2. ब्याज सुविधा – बैंकिङ खातामा ब्याज पाइन्छ, तर वालेटमा पाइँदैन।
3. रकम सीमा – मोबाइल बैंकिङमा ठूलो रकम राख्न सकिन्छ, तर वालेटमा सीमित मात्रामा रकम राख्न मिल्छ।
4. सेवा प्रदायक – बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ सेवा दिन्छन्, भने भुक्तानी सेवा प्रदायकहरूले मोबाइल वालेट सञ्चालन गर्छन्।
साधारण भुक्तानीका लागि मोबाइल वालेटको प्रयोग बढ्दो छ भने ठूलो रकमको कारोबारका लागि मोबाइल बैंकिङ अझै लोकप्रिय छ। दुवै सेवाका लागि नेपाल राष्ट्र बैंकले निश्चित सीमा तोकेको छ।