Wednesday, October 8, 2025

ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा पनि स्थिर रहने संकेत

३० माघ, काठमाडौं । पछिल्ला दुई महिनायता बैंकहरूको ब्याजदर स्थिर रहने क्रम कायम रहेको छ। वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार १८ बैंकको ब्याजदर यथावत छ।

ग्लोबल आईएमई बैंकको ब्याजदर वृद्धि भएको छ भने लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएको छ। यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो। पुस महिनामा १४ बैंकले ब्याजदर यथावत राखेका थिए भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए।

ब्याजदर स्थिर, कर्जाको प्रवाह बढ्दै

बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ६.० प्रतिशत कायम छ, जुन माघ महिनासँग समान छ। एनएमबी बैंक र एनआईसी एसिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपबीच कम्तीमा १ प्रतिशतको अन्तर हुनुपर्ने व्यवस्था छ। यसैगरी, व्यक्तिगत रेमिट्यान्स मुद्दती निक्षेपमा १ प्रतिशत बढी ब्याज दिन बैंकहरूलाई छुट छ।

ब्याजदर किन स्थिर रह्यो?

बैंकिङ प्रणालीमा हाल पर्याप्त तरलता रहेकोले बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। कर्जाको माग वृद्धि भइरहेकाले ब्याजदर घटाउने क्रम रोकिएको हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको छ।

वित्तीय विश्लेषकहरूका अनुसार निकट भविष्यमा पनि ब्याजदरमा ठूलो उतार-चढाव नआउने र केही महिना स्थिर नै रहने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles