काठमाडौं — नेपालस्थित भारतीय राजदूतावासले दोस्रो संस्करणको ‘भारत–नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके २०२५)’ कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल र भारतका स्टार्टअप प्रतिनिधिहरूको सहभागिता
कार्यक्रममा भारत सरकारको डीपीआईआइटी, स्टार्टअप इन्डियादेखि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, फिनटेक एलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
सञ्चारमन्त्री गुरुङको सम्बोधन
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली स्टार्टअपका लागि अवसर सिर्जना गर्ने नवीनतम प्रविधि अँगाल्ने प्रगतिबारे जानकारी गराउँदै भारत र नेपालको प्रगाढ सम्बन्धमा जोड दिए।
उनले नेपाली स्टार्टअपहरूलाई ‘एसएमके २०२५’ मा सहभागी हुन प्रोत्साहन गरे।
भारतीय राजदूतको भनाइ
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा स्टार्टअप संस्कृतिले कसरी मूलधारको स्थान लिएको छ भन्नेबारे चर्चा गरे।
उनले भारतको डिजिटल प्रविधिमा सफलता र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विकासले सीमापार स्टार्टअप सहकार्यको अवसर प्रदान गरेको बताए।
‘नेपालको फोनपे र भारतको यूपीआईबीच अन्तर सञ्चालनशीलताबाट ४ लाखभन्दा बढी व्यापारिक कारोबार भएका थिए,’ उनले भने।
डीपीआईआइटीका सहसचिवको प्रस्तुति
भारत सरकारको डीपीआईआइटीका सहसचिव सञ्जीवले एसएमके २०२५ कार्यक्रमबारे प्रस्तुति दिँदै यसले ३ हजारभन्दा बढी प्रदर्शक, १० हजार स्टार्टअप, १ हजार लगानीकर्ता, र ५० हजारभन्दा बढी व्यावसायिक आगन्तुकहरूलाई समेट्ने जानकारी दिए।
विभिन्न क्षेत्रका प्रविधि प्रदर्शन
कार्यक्रममा डीटूसी, फिनटेक, एआई, साइबर सुरक्षा, रक्षा प्रविधि, जलवायु प्रविधि, बायोटेक र स्वास्थ्य सेवासम्बन्धी नवीनतम आविष्कारहरू प्रदर्शन गरिने जानकारी दिइयो।
विशेषज्ञहरूका धारणा
कार्यक्रममा आईआईटी मद्रास प्रवर्तक प्रमुख राजेन्द्र मुथा, खल्ती वालेटका संस्थापक अमित अग्रवाल, टेक एक्सआरका सीईओ प्रशान्त मिश्रा लगायतले आफ्ना विचार प्रस्तुत गरे।
त्यस्तै वृद्धि सञ्जाल प्रालिका सीईओ शिक्षित भट्ट, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ नीलेशमान सिंह प्रधान, काठमाडौं विश्वविद्यालयका डा. बालकृष्ण बलले पनि आ–आफ्ना क्षेत्रका विषयमा धारणा राखे।
नेपालमा स्टार्टअप र डिजिटल क्षेत्रमा भारतसँगको सहकार्यले थप प्रवर्धन हुने अपेक्षा गरिएको छ।