धनुषा। मुखियापट्टी गाउँपालिकामा अवैध रूपमा विनादर्ता सञ्चालनमा रहेका करिब एक दर्जन निजी विद्यालयलाई गाउँपालिकाले बन्द गराएको छ।
गाउँपालिका अध्यक्ष जयकुमार यादवका अनुसार पटकपटक सूचना जारी गर्दा पनि कानुनी प्रक्रिया नअपनाएको र अटेर गर्दै आएका कारण बाध्य भएर विद्यालयहरू बन्द गर्नुपरेको हो।
बन्द गरिएका विद्यालयहरूमा न्यू स्काई, तराई चाइल्ड डेभलपमेन्ट, गंगालाल शिशु पाठशालालगायतका नाम परेका छन्। यादवले स्थानिय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पालिकालाई आधारभूत र माध्यमिक तहको शिक्षाको व्यवस्था गर्ने अधिकार भएकाले सोहीअनुसार कार्यान्वयनमा आएको स्पष्ट पारे।
“शिक्षाको गुणस्तर सुधार गर्नु हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष जय कुमार यादवले भने, “अभिभावकहरूले पनि अवैध रूपमा सञ्चालित विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना नगरून्।” उनले विद्यालय सञ्चालकहरूलाई मापदण्ड अनुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिएका छन्।