भुवनेश्वर, ओडिशा – ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारत सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मिडिया ब्रिफिङमा लम्सालको निधनप्रति समवेदना प्रकट गर्दै यस घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्।
‘हामी नेपाली छात्रा प्रकृति लम्सालको दुखद् निधनप्रति अत्यन्तै दुखी छौँ। हामी उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौँ,’ प्रवक्ता जायसवाललाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ। उनले भारत सरकारले देशमा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने पनि स्पष्ट पारे।
प्रवक्ता जायसवालका अनुसार घटनाको प्रारम्भदेखि नै भारतको विदेश मन्त्रालय ओडिशा सरकार, केआईआईटी प्रशासन तथा नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको छ।
गत फागुन ४ गते बी.टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालको रहस्यमय मृत्यु भएको थियो। उक्त घटनासँगै अन्य नेपाली विद्यार्थीहरू माथि दुर्व्यवहार भएको खबर समेत सार्वजनिक भएपछि यस प्रकरणले थप गम्भीर रूप लिएको छ।
भारत सरकार र ओडिशा प्रशासनले यस विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ। नेपाली अधिकारीहरूसँग समन्वय गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता भारतीय पक्षले जनाएको छ।