काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। सिंगापुर फुटबल संघले सन् २०२५ को पहिलो घरेलु खेल अन्तर्गत नेपाल र हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक गरेको छ।
नेपाल र सिंगापुरबीचको खेल चैत ८ गते (मार्च २१) मा सिंगापुरमा हुनेछ। दुवै टोली एएफसी एसियन कप तेस्रो चरणको छनोटको तयारी गरिरहेका छन्।
यद्यपि, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन। नेपालले यसअघि नोभेम्बरमा ताजिकिस्तानमा घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
एसियन कप छनोटमा नेपाल मलेसियासँग खेल्ने
एसियन कप छनोटको पहिलो खेलमा नेपालले मार्च २५ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्नुपर्ने तालिका भए पनि एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएकोले खेल मलेसियामै हुने सम्भावना बढी छ।
यसैगरी, सिंगापुरले पनि छनोटको पहिलो खेल मार्च २५ मै हङकङसँग घरेलु मैदानमा खेल्नेछ।