सोलुखुम्बु — वसन्त ऋतुको आगमनसँगै सगरमाथा क्षेत्र पुनः पर्यटकले भरिन थालेको छ। वरिपरि हिउँले ढाकिएका हिमालका कञ्चन दृश्य, शेर्पा संस्कृति, र अनुकूल मौसमले गर्दा सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत चैत महिनामा मात्रै १२ हजार तीन जना पर्यटक सगरमाथा क्षेत्रमा पुगे। निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार वसन्त याम हिमाल आरोहण, ट्रेकिङ तथा दृश्यावलोकनका लागि उपयुक्त मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रहेको छ।
नाम्चे बजारदेखि लुक्लासम्मका होटलहरू भरिभराउ छन्। काठमाडौँ र रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुग्ने हवाइ सेवामार्फत दैनिक सयौँ पर्यटक क्षेत्र प्रवेश गर्दैछन्। तर मौसम प्रतिकूल हुँदा सडकमार्गमार्फत सल्लेरी हुँदै सुर्केसम्मको यात्रा बढेको छ। यातायात व्यवसायीहरूका अनुसार काठमाडौँबाट जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सल्लेरी पुग्ने, र त्यहाँबाट बोलेरोमार्फत सुर्केसम्म जाने वैकल्पिक मार्ग पर्यटकले रोज्न थालेका छन्।
निकुञ्ज क्षेत्रमा सडक सञ्जाल विस्तारसँगै ट्रेकिङ एजेन्सी र होटल व्यवसायीहरूले वैकल्पिक पहुँचलाई सकारात्मक रूपमा लिएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष कर्मा शेर्पाका अनुसार मौसम प्रतिकूल हुँदा विमान नउड्दा सडक विकल्पले ठूलो राहत दिएको छ।
यद्यपि, मौसमको असहजताले केही पर्यटकलाई अन्यन्तर डाइभर्ट हुनुपर्ने अवस्था पनि देखिएको व्यवसायीहरूको भनाइ छ। समयबद्ध भिषा लिएर आएका पर्यटकका लागि मौसमले अवरोध गरेमा अन्य गन्तव्य रोज्ने बाध्यता उत्पन्न भएको छ।
विसं २०३२ मा स्थापना गरिएको सगरमाथा राष्ट्रिय निकुञ्ज १,१४८ वर्ग किलोमिटरमा फैलिएको छ। यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छ र ल्होत्से, नुप्से, आमादब्लम लगायतका हिमचुचुराले भरिएको छ। गोक्यो ताल सन् २००७ मा रामसार सूचीमा पनि सूचीकृत भएको छ। निकुञ्जमा लालीगुराँसको मनमोहक जंगल, हिउँ चितुवा, डाँफे लगायतका वन्यजन्तु र चराहरू पर्यटकको विशेष आकर्षणका केन्द्र हुन्।
साँस्कृतिक हिसाबले तेङ्बोचे र थामे गुम्बाहरूले बौद्ध शिक्षाको सन्देश दिने यस क्षेत्रमा शेर्पा संस्कृतिले विशिष्ट भूमिका खेलेको छ। ट्रेकिङ, पर्वतारोहणसँगै सांस्कृतिक भ्रमणले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ।
यो आर्थिक वर्षको पहिलो नौ महिनामा ४४ हजार ६०८ पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। जसमा विदेशी ३७ हजार ७९६ र नेपाली पाँच हजार ८९७ जना रहेका छन्। पर्यटन राजस्वतर्फ निकुञ्जले ११ करोड ३२ लाख रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ।
सगरमाथा क्षेत्रको पर्यटनले आर्थिक पक्षलाई सशक्त बनाएको छ, तर वातावरणीय सन्तुलन जोगाउँदै दिगो पर्यटन विकासमा ध्यान दिनु आवश्यक रहेको पर्यटन विज्ञहरुले बताउछन् ।