काठमाडौं – महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुँइचो लागेको छ। दर्शनका लागि मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएपछि श्रद्धालुहरूको लामो लाइन पशुपति क्षेत्रमा देखिएको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयहरूमा विशेष पूजा, आराधना तथा दर्शन गरिरहेका छन्। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ।
धार्मिक मान्यता अनुसार, शिवजीको उत्पत्तिसँग सम्बन्धित यो पर्वलाई ‘शिवरात्रि’ नाम दिइएको हो। यसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ। शिव पुराणलगायतका ग्रन्थहरूमा महाशिवरात्रिको विशेष महत्व उल्लेख गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार, भक्तजनहरूको सहजताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने मन्दिर व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरू अपनाइएका छन्।