२८ चैत, काठमाडौं । केही दिनयता अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य जोखिममा परेका काठमाडौँ उपत्यकाका बासिन्दाले आज परेको पानीले केही राहत महसुस गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, चन्द्रागिरि, फुल्चोकी, सल्लाघारी हुँदै दुवाकोटसम्मका क्षेत्रमा खण्डित रूपमा पानी परेपछि वातावरण केही स्वच्छ भएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले काठमाडौंसहित देशका पूर्वी र मध्य भूभागका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको जानकारी दिएका छन्। झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ। वर्षाको मात्रा आज राति र भोलि बिहान झन् बढ्न सक्ने उनले जनाए।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिममा भने वर्षाको प्रणाली कमजोर छ। विशेषगरी उच्च पहाडी तथा हिमाली भूभागमा भने वर्षाको सम्भावना कायमै रहेको मौसम विभागले जनाएको छ।
वर्षासँगै काठमाडौंको वायु प्रदूषणमा आंशिक सुधार आएको छ। हिजो मात्रै विश्वकै प्रदूषित शहरमध्ये शीर्ष स्थानमा रहेको काठमाडौं आज दिउँसो दोस्रो स्थानमा झरेको छ। यद्यपि, आईक्यूएयरका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) अझै पनि १७७ रहेको छ, जुन ‘अस्वस्थकर’ तहमा पर्दछ।