काठमाडौं — नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को अगुवाइमा १० अर्ब रुपैयाँ पुँजीसहित लगानी कम्पनी स्थापना गरिएको छ, जसको प्राथमिक उद्देश्य देशभित्र नवप्रवर्तनशील स्टार्टअप र उद्यमहरूमा लगानी गर्नु हो। काठमाडौंमा आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रमको उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो लगानी कम्पनीले स्वतन्त्र रूपमा सञ्चालन भई जुनसुकै लगानीकर्ताले सहभागिता जनाउन सक्ने जानकारी दिए।
ढकालले हालैको लगानी सम्मेलनमा ल्याइएका आठवटा कानुन संशोधनमध्ये औद्योगिक व्यवसाय ऐनमा पहिलोपटक स्टार्टअपको कानुनी परिभाषा समावेश गरिएको जानकारी गराए। उनले यसले युवा उद्यमीलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे। स्टार्टअप कार्यक्रमलाई व्यवहारिक कार्यान्वयनतर्फ ल्याउन महासङ्घले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघसँगको सहकार्यमा इन्क्युबेशन सेन्टर स्थापना प्रक्रिया पनि अघि बढाइसकेको छ।
FNCCI को यो कदमले आन्तरिक पुँजी परिचालन गर्दै प्रत्यक्ष विदेशी लगानीलाई आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ।