विक्रम संवत् २०८२ को आगमनसँगै नेपालले यातायात पूर्वाधारमा नयाँ अध्याय सुरू गरेको छ। सुरुङ मार्ग, फ्लाइओभर र कालोपत्रे सडकको तीव्र निर्माणसँगै यात्रुहरूले अब लामो सास्तीबाट राहत पाउनेछन्। नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम चरणमा पुगेको छ भने ग्वार्को फ्लाइओभर पनि प्रारम्भिक महिनामै सञ्चालनमा आउने तयारीमा छ।
बुटवल–नारायणगढ सडक खण्डमा कालोपत्रेको काम अघि बढिरहेको छ भने मुग्लिङ–पोखरा सडक पनि सघन रुपमा निर्माण हुँदैछ। २०८२ को दशैँसम्म नारायणगढ–बुटवल सडकको प्रमुख खण्ड कालोपत्रे हुनेछ भने पोखराबाट मुग्लिङ यात्रा २ घण्टाभित्र सीमित हुने अपेक्षा गरिएको छ।
पूर्व-पश्चिम राजमार्गको कमला–कञ्चनपुर सडक खण्ड समेत २०८२ मा पूर्ण हुने गरी निर्माण तीव्र भइरहेको छ। अबको पूर्वाधार निर्माण अलपत्र नपारिने दाबीसहित सरकारले कार्यान्वयनमा जोड दिएको छ। नयाँ वर्ष २०८२, नेपालका लागि यातायातको दृष्टिले परिवर्तनकारी बन्ने निश्चित देखिन्छ।