Thursday, October 9, 2025

ब्याजदर घटेपछि सेयर बजारमा पुँजीको भीड, बीमा कम्पनीको लगानी दोब्बर

काठमाडौं । देशको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर ऐतिहासिक न्यून विन्दुमा झरेसँगै सेयर बजारमा आम लगानीकर्ताको आकर्षण तीव्र गतिमा बढ्दै गएको देखिन्छ। एकातिर मुद्रास्फीतिभन्दा पनि न्यून बचत ब्याजदरले बैंकमा पैसा राखेर घाटा हुने अवस्था सिर्जना भएको छ भने अर्कातिर, सेयर बजारमा लगानी गर्ने प्रवृत्तिमा तीव्र बृद्धि देखिएको छ।

२०८१ माघ मसान्तसम्म वाणिज्य बैंकहरुको औसत निक्षेप ब्याजदर ४.६२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.०१ प्रतिशत थियो। तर मुद्रास्फीति ४.१६ प्रतिशत रहेकाले वास्तविक ब्याजदर ऋणात्मक बनेको छ। यस्तो अवस्थामा नागरिकले बैंकको बचत तथा मुद्दती खातामा पैसा राख्नुभन्दा वैकल्पिक लगानीतर्फ ढल्किन थालेका छन्।

बैंकहरुको मुद्दती निक्षेपको नवीकरणदर घटिरहेको देखिएको छ। लक्ष्मी सनराइज बैंकका सीईओ अजय विक्रम शाह र एनएमबी बैंकका सीईओ सुनिल केसी दुबैले निक्षेप नवीकरण घटेको पुष्टि गर्दै सेयर बजारतर्फ पुँजी सर्न थालेको संकेत गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म १ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० अर्ब रुपैयाँले बढी हो। विशेषतः १० करोड माथिको कर्जाको अंश पनि २० अर्बभन्दा बढीले वृद्धि भएको छ, जसले ठूला लगानीकर्ताले सेयर बजारमा पुँजी प्रवाह तीव्र बनाएको संकेत गर्दछ।

बीमा कम्पनीहरुको लगानी पनि सेयर बजारतर्फ केन्द्रित भएको देखिन्छ। २०८० पुसमा जीवन बीमा कम्पनीहरुको साधारण सेयर लगानी १२ अर्ब थियो भने हाल त्यो २५ अर्ब नाघेको छ। यसले सेयर बजारमा संस्थागत लगानीकर्ताको गहिरो चासो देखाउँछ।

तर यता राजनीतिक स्थिरता र बजारको विश्वासको विषयले भने लगानीकर्तामा अनिश्चितता बढाइरहेको छ। फागुन १८ पछि सुरु भएको नेप्सेको गिरावट राजनीतिक अस्थिरता र राजावादी आन्दोलनसँग जोडिएर आएको देखिन्छ। बजार केही दिन सुधारिएपनि पुनः गिरावट आएपछि लगानीकर्ता अझै सतर्क छन्।

विश्लेषकहरूका अनुसार ब्याजदर घट्नु, धितो कर्जामा वृद्धि, बीमा कम्पनीको लगानी, विदेशी मुद्राको सञ्चिति स्थिर हुनु जस्ता आर्थिक सूचक सकारात्मक भए पनि राजनीतिक संकेत स्थिर नहुँदा सेयर बजारले अपेक्षित गति लिन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles