काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको कडाइका कारण दुई सय मेट्रिक टनभन्दा बढी सामान भन्सारमा रोकिएको छ। भन्सार कार्यालयले झिटीगुन्टा र कमर्सियल सामानको जाँचपासमा कडाइ गरेपछि विमानस्थलको गोदाम भरिने गरी सामान थुप्रिएको हो।
भन्सारले व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानलाई ‘झिटीगुन्टा’ मान्दै केही छुट दिने व्यवस्था गरे पनि व्यावसायिक (कमर्सियल) सामानमा भने भन्सार महसुल लाग्ने प्रावधान छ। भन्सार कार्यालयले कार्गो तथा कुरियरमार्फत पठाइएका सामानलाई व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति बढेको भन्दै कडाइ गरेपछि समस्या उत्पन्न भएको हो।
व्यवसायीहरू असन्तुष्ट
व्यवसायीहरू भन्सार कार्यालयको कडाइका कारण व्यक्तिगत रूपमा पठाइएका सामानसमेत महिनौँसम्म रोकिएको भन्दै असन्तुष्टि जनाएका छन्। हङकङबाट नेपालमा कार्गो सेवा प्रदान गर्ने तुलसी उप्रेतीका अनुसार भन्सारसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा ग्राहकको विश्वास गुम्ने अवस्था आएको छ।
‘कस्तो सामानलाई व्यक्तिगत मान्ने, कस्तो व्यावसायिक भन्ने स्पष्ट छैन। ग्राहकहरूले पठाएको सामान महिनौँदेखि भन्सारमै अड्किएको छ। यसले व्यवसायीहरूलाई समस्या त पार्यो नै, ग्राहकहरूसँग जवाफ दिन नसक्ने अवस्था छ,’ उप्रेतीले भने।
नेपाल कुरियर सेवा संघका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले व्यक्तिगत प्रयोजनका सामानमा सहजीकरण हुनुपर्ने माग गरेका छन्। ‘केही व्यवसायीले झिटीगुन्टाको नाममा व्यावसायिक सामान ल्याउने प्रवृत्ति देखिए पनि सबैलाई एउटै नजरले हेर्नु ठीक होइन,’ उनले भने।
भन्सार प्रशासनको भनाइ
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले झिटीगुन्टाको नाममा व्यावसायिक सामान भित्र्याउने प्रवृत्ति रोक्न कडाइ गरिएको स्पष्ट पारे। ‘व्यावसायिक सामानलाई झिटीगुन्टा भनेर नल्याउनको लागि कडाइ गरिएको हो। आफैँ ल्याउने श्रमिकहरूलाई समस्या छैन, तर कार्गोमार्फत आउने सामानलाई व्यावसायिक भनेर भन्सार तिर्नुपर्ने नियम लागू गरिएको छ,’ उनले भने।
त्रिभुवन विमानस्थल भन्सार प्रमुख दिलीप गौतमले व्यक्तिगत प्रयोजनका सामान रोकिएको भन्ने कुरा गलत भएको दाबी गरे। ‘व्यक्तिगत सामान ल्याउनेहरूलाई कुनै समस्या छैन। तर, कार्गोमार्फत आएका केही सामानलाई कमर्सियल भनेर घोषणा गर्नुपर्ने भएपछि केही विवाद भएको हो,’ उनले भने।
झिटीगुन्टासम्बन्धी विद्यमान व्यवस्था
सरकारले झिटीगुन्टा आदेशअनुसार व्यक्तिगत प्रयोजनका लागि निश्चित परिमाणमा ल्याइने सामानलाई भन्सार छुट दिने व्यवस्था गरेको छ। यसमा लुगाफाटा, पुराना घरायसी सामान, ३२ इन्चसम्मको टेलिभिजन, मोबाइल फोन, ल्यापटप, औषधि, बाजागाजा, खेलकुद सामग्री जस्ता सामान पर्छन्।
तर, भन्सार प्रशासनले कार्गोमार्फत आउने सामानलाई व्यावसायिक भनी मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरेपछि अहिले समस्या उत्पन्न भएको छ। व्यवसायीहरूले सरकारले स्पष्ट कानुनी व्यवस्था ल्याएर झिटीगुन्टा र व्यावसायिक सामानबीचको सीमारेखा निर्धारण गर्नुपर्ने माग गरेका छन्।