काठमाडौं । ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाइयो। मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थित रहेको थियो।

कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कला कौशल प्रदर्शन गरेका थिए। साथै, नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै दिवसको विशेषता थप बलियो बनाएको थियो। दिवसको अवसरमा सरकारद्वारा देशभर सार्वजनिक बिदा दिइएको छ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्ष र योगदानलाई स्मरण गर्दै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्। दिवसकै अवसरमा राष्ट्रपति पौडेलले प्रजातन्त्रको रक्षा र समृद्धिको लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने संदेश दिएका छन्।