Thursday, October 9, 2025

बुटवलको समृद्धिका लागि सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

बुटवल – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार दृढताका साथ लागिपरेको बताएका छन्।

शनिबार बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले संघीय शासन व्यवस्थालाई सशक्त बनाउँदै संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन तथा कानुन निर्माणमा सरकारले ध्यान केन्द्रित गरेको उल्लेख गरे। उनले यही उद्देश्यका साथ संसदमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसहित विभिन्न दलहरूको सहकार्यमा सरकार गठन भएको बताए।

सिंहले नागरिकको जीवन सहज बनाउने लक्ष्यसहित सहरी विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा राखे। उनले बुटवल आर्थिक गतिविधिको केन्द्रका रूपमा स्थापित रहेको र धार्मिक पर्यटनको पनि अपार सम्भावना रहेको उल्लेख गर्दै बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक सर्किट निर्माण गर्न सकिने बताए।

उनले बुटवल उपमहानगरपालिकाको विकास मापदण्ड पुगेमा महानगरपालिकामा स्तरोन्नति गर्न सकिने सम्भावना रहेको समेत जानकारी दिए।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले लौहपुरुष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल आइपुगेको ऐतिहासिक प्रसंग जोड्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलले निर्वाह गरेको भूमिकालाई स्मरण गरे।

उनले बुटवलको समग्र विकासका लागि शहरी विकास मन्त्रालयमार्फत विभिन्न योजनाहरू अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा ती योजनालाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles