Wednesday, October 8, 2025

गृहमन्त्रीमाथि सांसद खनालको प्रश्न: ‘नैतिकताले कुर्सीमा बस्ने अधिकार छ?

२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै खनालले अस्कल क्याम्पसमा प्रहरीको निष्क्रियता र विद्यार्थी नेताहरूको दादागिरीबारे गम्भीर चिन्ता व्यक्त गरे।

खनालले आरोप लगाए कि ड्युटीमा रहेका प्रहरीलाई अनेरास्ववियुका नेताहरूले प्रभाव पार्दा पनि प्रहरीले अनुसन्धानसमेत नगरेको छ। उनले भने, “प्रहरीले आँट नगरेपछि क्याम्पसमा पढ्ने वातावरण कसरी बन्छ?”

सरकार पक्षधर विद्यार्थीलाई मात्रै संरक्षण?

खनालले गृहमन्त्रीमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। “एकातिर अभद्र व्यवहार भन्दै आशिका तामाङहरूलाई पन्ध्र दिनसम्म हतकडी लगाएर डुलाउने, अर्कोतिर सत्ता पक्षधर विद्यार्थीलाई अनुसन्धानसमेत नगर्ने?” उनले प्रश्न गरे।

विद्यार्थी नेताहरूले आफ्नो राजनीतिक पहुँच देखाएर प्राध्यापकलाई धम्क्याउने, क्याम्पसमा दादागिरी देखाउने प्रवृत्ति मौलाएको भन्दै उनले सरकारको भूमिकामाथि शंका व्यक्त गरे।

गृहमन्त्रीको नैतिकता माथि प्रश्न

खनालले गृहमन्त्री लेखकले आफ्नो पदमा बसिरहने नैतिक आधार गुमाइसकेको दाबी गरे। “आफ्नै कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने?” उनले सरकारसँग जवाफ मागे।

खनालले सरकारलाई चेतावनी दिँदै भने, “युवाहरू विदेश पलायन हुने चिन्ता व्यक्त गर्ने नेताहरू व्यवहारमा भने दलगत रूपमा मात्र संरक्षण दिन्छन्। यस्तो प्रवृत्तिले देशमा युवाहरूको भविष्य के हुन्छ?”

सरकारको जवाफ अपेक्षित

सांसद खनालको कडा प्रश्नपछि गृहमन्त्री लेखकको प्रतिक्रिया आउन बाँकी छ। विपक्षी दलहरूले पनि सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने संकेत देखाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles