नयाँ वर्ष २०८२ को सुरुआतसँगै धेरैले साथीभाइ भेटघाट, मिठो खानेकुरा, रमाइलो र घुमघामको योजना बनाउने गर्छन्। विशेषतः पहिलो दिन नयाँ गन्तव्यमा पुग्ने चाहना राख्नेहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ।
त्यसैले हामीले पर्यटन व्यवसायीहरूका सुझावमा आधारित रहँदै काठमाडौंबाट एकदेखि दुई दिनमा पुग्न मिल्ने १० आकर्षक गन्तव्यको सूची तयार पारेका छौं, जसले तपाईंको नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन सक्छ।
१. कालिञ्चोक (दोलखा)
धार्मिक आस्थाको केन्द्र र प्राकृतिक दृश्यको संगम बनेको कालिञ्चोक हिमाल देख्न र हिउँ खेल्न उपयुक्त स्थान हो। लाङटाङदेखि गौरीशंकरसम्मका हिमालहरू यहाँबाट देखिन्छन्। चरिकोट हुँदै दुई दिनको योजना बनाएर जान सकिने गन्तव्य।
२. शैलुङ (दोलखा)
मिनी ग्रेटवाल, सय थुम्का र दर्जनौं हिमाल एकै ठाउँबाट देखिने शैलुङ हिमाल अवलोकनको प्रमुख गन्तव्य हो। सिन्धुपाल्चोकको मुडेबाट पुग्न सकिने शैलुङमा पदयात्रा गर्न चाहनेका लागि पनि राम्रो विकल्प।
३. सुकुटे (सिन्धुपाल्चोक)
र्याफ्टिङ, बन्जी, स्काई साइकलदेखि टेन्ट क्याम्पसम्म — सुकुटे साहसिक घुमघामप्रेमीका लागि ‘एड्भेन्चर हब’ हो। एक दिनमै घुमेर फर्किन सकिने सुकुटेमा रात बस्ने हो भने खोला किनारका रिसोर्टहरू आकर्षक छन्।
४. धुलिखेल (काभ्रे)
नजिकैको शहर getaway — धुलिखेलमा हजार सिँढी, नमोबुद्ध, हिमाल दृश्य, जिपलाइन, हाइकिङ सबैकुराको मजा एकैपटक लिन सकिन्छ। पारिवारिक घुमघामका लागि आदर्श विकल्प।
५. बेथानचोक (काभ्रे)
तीन घन्टा गाडी र पाँच घन्टा पदयात्रापछि पुगिने बेथानचोकबाट सगरमाथादेखि धौलागिरिसम्मका हिमाल देखिन्छन्। क्याम्पिङ र सुर्योदय/सूर्यास्त दृश्य हेर्न उपयुक्त।
६. नगरकोट (भक्तपुर)
काठमाडौँनजिकैबाट सूर्योदय हेर्न चाहनुहुन्छ भने नगरकोट उत्कृष्ट विकल्प हो। होटल सुविधा प्रशस्त छ र यहाँ हिमाल अवलोकनसँगै जिपलाइनको मजा पनि लिन सकिन्छ।
७. ककनी (नुवाकोट)
२२ किलोमिटर दूरीमा रहेको ककनी ट्राउट माछा, स्ट्रबेरी खेती र भ्यू टावरका लागि प्रख्यात छ। हाइकिङप्रेमीको रोजाइको गन्तव्य।
८. चिसापानी (सुन्दरीजल-शिवपुरी)
हाइकिङ, जंगल, निकुञ्ज र हिमालको दृश्य एकैसाथ चाहनुहुन्छ भने चिसापानी उत्तम गन्तव्य हो। यहाँबाट नगरकोट हुँदै काठमाडौं फर्किने ‘ट्रेकिङ रूट’ लोकप्रिय छ।
९. चित्लाङ (मकवानपुर)
चित्लाङको होमस्टे, अर्गानिक खाना र पाराग्लाइडिङले यो ठाउँलाई बेग्लै पहिचान दिएको छ। चन्द्रगिरि हुँदै पाराग्लाइडिङ गरेर चित्लाङ झर्ने अनुभव अविस्मरणीय बन्न सक्छ।
१०. कुलेखानी/मार्खु (मकवानपुर)
पोखरीमा डुंगा सयर, माछा परिकार, मोहिनी झरना हाइकिङ र रमाइलो पिकनिक — कुलेखानी एक दिनको पारिवारिक यात्रा वा दुई दिनको साहसिक योजनाका लागि उपयुक्त।