काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउनु पर्ने बताउनुभएको छ ।
पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गर्नुभयो ।
यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सवल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, पूर्वमहामन्त्री सिंहले भन्नुभयो ।