काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सभालाई सम्बोधन गर्ने भएका छन । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्ने भएको छ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ ।
खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले सुनापति न्युज लाई जानकारी दिनुभयो ।२० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि हिजोबाट मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बताइएको छ ।
आज १२ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजक जनाएको छ ।
एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले जनाएका छन् । यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताकाे पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल गरेको छ ।
प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन‘ले पनि यो कार्यक्रम नेकपाको मात्र नभएर राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत भएकाले सम्पूर्ण देशभक्ति, राष्ट्रप्रेमि प्रगतिशील शक्तिहरु र देशको स्वाधिनता रक्षा गर्ने नागरिक र मिडियाकर्मीहरुलाई जनसभामा सहभागि हुन आह्वान गरेका छन् ।
देशमा यतिबेला सत्ता र सरकारमा रहेका केही शासकहरु एमसीसी पास गराउन विभिन्न चलखेल र षड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर एमसीसी खारेजीको लागि देशभक्ति, राष्ट्रवादी शक्तिहरु, पार्टीहरु, नागरिकहरु सडकमा दिनहुँ आन्दोलित भएका छन् ।